नेपालको योजनाबद्ध विकास प्रक्रियामा १६ औँ योजनाले पहिचान गरेको विकासको सोच, उद्देश्य, रणनीति र रूपान्तरणका क्षेत्रहरू उल्लेख गर्नुहोस् ।
मुलुकको विकासका लागि रणनीतिक सोच, लक्ष्य, उद्देश्य, रणनीति, कार्यनीति एवं कार्यक्रम तय गरी उपलब्ध स्रोतसाधनलाई प्राथमिकताका साथ उपयोग गर्ने सुनियोजित प्रयास नै विकास योजना हो । नेपालमा योजनाबद्ध विकास प्रक्रिया थालनी भएको करिब सात दशक भइसकेको छ । यस अवधिमा पाँच वटा त्रिवर्षीय र १० वटा पञ्चवर्षीय योजना तर्जुमा भई कार्यान्वयन भई सकेका छन् । आर्थिक वर्ष २०१८/१९, २०४७/४८ र २०४८/४९ गरी तीन वटा आ.व. आवधिक योजना कार्यान्वयनका दृष्टिले योजनाविहीन वर्षका रूपमा रहेका छन् । सोह्रौँ योजनाका रूपमा पञ्चवर्षीय योजना तर्जुमा भई कार्यान्वयनको चरणमा रहेको छ । १६ औँ योजनाले पहिचान गरेका विकासका सोच, उद्देश्य, रणनीति र रूपान्तरणका क्षेत्र यसप्रकार छन:
क) सोच: दीर्घकालीन सोच २१०० ले तय गरेका समृद्धि र सुखका मूलभूत तìवलाई आत्मसात् गर्दै १६ औँ योजनाले ‘सुशासन, सामाजिक न्याय र समृद्धि’ को सोच राखेको छ । सुशासनमार्फत नै सामाजिक न्याय र समृद्धि हासिल गर्न सकिन्छ । सामाजिक न्यायसहितको समृद्धिमा समाजवादी विशेषता अन्तर्निहित रहेको हुन्छ । सामाजिक न्याय स्थापित गर्दै हासिल भएको समृद्धि दिगो, समावेशी, समुन्नत एवं अनुभूतियोग्य हुने छ ।
ख) उद्देश्य: आमनागरिकले आफ्नो जीवनमा अनुभूत गर्न सक्ने विकास र सुशासन हासिल गर्नु १६ औँ योजनाको मूल उद्देश्य हो । यसका लागि योजनाले तय गरेको सोचबमोजिम क्षेत्रगत रूपमा योजनाको प्रमुख उद्देश्य यसप्रकार छन :
–राजनीतिक, प्रशासनिक, न्यायिक, निजी तथा गैरसरकारी क्षेत्रमा सुशासन कायम गर्नु,
–स्वास्थ्य, शिक्षा, रोजगारी, आवास, सुरक्षा तथा सार्वजनिक सेवा प्रवाहमा सामाजिक न्याय स्थापित गर्नु,
–मानवीय जीवन र राष्ट्रिय अर्थतन्त्रमा समृद्धि हासिल गर्नु ।
ग) समष्टिगत रणनीति: अर्थतन्त्रको संरचनागत रूपान्तरणमार्फत द्रुत विकास, सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्नु नै १६ औँ योजनाले अवलम्बन गर्ने मुख्य रणनीति हो । यसक्रममा संरचनागत रूपान्तरणका लागि पहिचान गरिएका क्षेत्रमा अवलम्बन गरिने समष्टिगत रणनीति यसप्रकार छन:
–विकासका सबै क्षेत्र तथा आयाममा देखिएका संरचनागत अवरोधको पहिचान, सम्बोधन र निराकरण गर्दै उत्पादन, उत्पादकत्व तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने,
–सङ्घ, प्रदेश र स्थानीय तिनै तह तथा सरकारी, निजी, सहकारी र गैरसरकारी क्षेत्र एवं विकास साझेदारबिचको अन्तरसम्बन्ध र कार्यात्मक क्षमतालाई मजबुत तुल्याउँदै दिगो विकास योजना कार्यान्वयन गर्ने,
–विकासका सबै क्षेत्र तथा आयाममा लैङ्गिक मूल प्रवाहीकरण, आधुनिक प्रविधिको प्रयोग, वातावरण संरक्षण र विपत् जोखिम न्यूनीकरणलाई आन्तरिकीकरण गर्ने,
–अध्ययन, अनुसन्धान तथा तथ्य र प्रमाणमा आधारित नीति निर्माण एवं विकासका कार्यक्रम कार्यान्वयन गर्ने ।
घ) संरचनात्मक रूपान्तरणका प्रमुख क्षेत्र:
–समष्टिगत आर्थिक आधारको सबलीकरण र उच्च आर्थिक वृद्धि,
–उत्पादन, उत्पादकत्व र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि,
–उत्पादनशील रोजगारी, मर्यादित श्रम र दिगो सामाजिक सुरक्षा,
–स्वस्थ, शिक्षित र सिपयुक्त मानव पुँजी निर्माण,
–गुणस्तरीय भौतिक पूर्वाधार विकास एवं सघन अन्तरआबद्धता,
–योजनाबद्ध, दिगो र उत्थानशील सहरीकरण तथा बस्ती विकास,
–लैङ्गिक समानता, सामाजिक न्याय र समावेशी समाज,
–प्रादेशिक तथा स्थानीय अर्थतन्त्रको सुदृढीकरण र सन्तुलित विकास,
–गरिबी तथा असमानता न्यूनीकरण र समतामूलक समाज निर्माण,
–प्रभावकारी वित्त व्यवस्थापन तथा पुँजीगत खर्च क्षमता अभिवृद्धि,
–शासकीय सुधार तथा सुशासन प्रवर्धन,
–जैविक विविधता, जलवायु परिवर्तन र हरित अर्थतन्त्र,
–अति कम विकसित मुलुकबाट सहज स्तरोन्नति तथा दिगो विकास लक्ष्य कार्यान्वयन ।
–यसरी सात दशकपहिले थालनी भएको नेपालको विकास योजना प्रतिक्रियाले विभिन्न कालखण्डमा राजनीतिक प्रणाली र शासकीय स्वरूपमा आएको परिवर्तनलाई आत्मसात् गर्दै विकास योजनाका सोच, उद्देश्य, प्राथमिकता र कार्यक्रमलाई परिष्कृत गर्दै अगाडि बढ्दै आएको छ । विगतका योजना कार्यान्वयनबाट प्राप्त उपलब्धिको जगमा उभिई चालु १६ औँ योजना सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्ने सोचसहित समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्यमा अगाडि बढेको छ ।